Section 45
सटही समीकरण कोष
(१) विदेशी विनिमय कारोबार गर्ने बैंक वा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षमा भारतीय रुपैयाँ बाहेक अन्य विदेशी मुद्राको विनिमय दरमा परिवर्तन भएको कारणबाट आर्जन गरेको पुनर्मूल्याङ्कन मुनाफालाई सोही आर्थिक वर्षको अन्त्यमा नाफा–नोक्सान हिसाबमा आवश्यक हिसाब मिलान गर्नु पर्नेछ । त्यसरी नाफा–नोक्सान हिसाबमा हिसाब मिलान गर्दा कुनै आर्थिक वर्षमा पुनर्मूल्याङ्कन आम्दानी भएमा त्यस्तो मुनाफाको कम्तीमा पच्चीस प्रतिशत रकम सटही समीकरण कोषमा जम्मा गर्नु पर्नेछ । तर भारतीय रुपैयाँको विनिमय दरमा परिवर्तन भएको कारणबाट हुने पुनर्मूल्याङ्कन नाफा–नोक्सानीको हकमा राष्ट्र बैंकले तोके बमोजिम हुनेछ । (२) उपदफा (१) बमोजिम सटही समीकरण कोषमा जम्मा भएको रकम विदेशी मुद्राको विनिमय दरमा घटबढ भएको कारणबाट हुने नोक्सानी समायोजन गर्न बाहेक राष्ट्र बैंकको स्वीकृति नलिई अन्य काममा खर्च गर्न वा रकमान्तर गर्न पाइने छैन ।